गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न भूमिका निर्वाह गर्ने गृह मन्त्रालयका कर्मचारी र सुरक्षा निकायलाई सम्मान गरेका छन्।
आज मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री अर्यालले कर्मचारी र सुरक्षा निकायलाई प्रशंसा–पत्रद्वारा सम्मान गरेका हुन्। उनीसँगै गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा, नेपाली सेनाका बलाध्यक्ष रथि प्रदीपजङ्ग केसी, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की, काठमाडौँ, ललितपुर र भक्तपुरका जिल्ला सुरक्षा समितिका पदाधिकारी तथा गृह मन्त्रालयका उच्च अधिकारीहरूलाई पनि सम्मान गरिएको थियो।
मन्त्री अर्यालले भने, “निर्वाचन ऐतिहासिक रूपमा सफलतापूर्वक सम्पन्न भएको छ, यस पटक रक्तपात भएन र पुनः निर्वाचन गर्नुपरेन। सामूहिक नेतृत्व र सबै सरोकारवालाको बलियो समन्वयका कारण सकारात्मक परिणाम हासिल भएको हो। आगामी दिनमा यसलाई कायम राख्न जरुरी छ।”
उहाँले निर्वाचनमा खटिएका अधिकारीहरुको सिर्जनशीलता र क्षमता प्रशंसनीय रहेको उल्लेख गर्दै, “विगतमा कतिपय घटनामा निर्देशन बिना वा कुरा नबुझिकन निर्णय हुन सक्थ्यो, तर यस पटक राम्रोसँग स्क्रिनिङ गरेर, समन्वय गरेर काम गरिएको छ। यसमा सबै तहका सुरक्षा निकायहरूको भूमिका उल्लेखनीय छ,” भने।
रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माले निर्वाचनका दौरान बलियो समन्वय र सहकार्यले सफलता हात परेको बताए। गृह मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख एवं प्रवक्ता आनन्द काफ्लेले मन्त्रालयको सुझबुझपूर्ण नेतृत्व र समन्वयका कारण निर्वाचन सुरक्षा र शान्ति सुव्यवस्था सफल भएको बताए।
