सुदूरपश्चिम प्रदेशले हेमन्त धामीको उत्कृष्ट प्रदर्शनको मद्दतमा प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ।
सोमबार वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा सुदूरपश्चिमले कर्णाली प्रदेशविरुद्ध ४ विकेटको जित निकाल्यो। कर्णालीले प्रस्तुत गरेको १२० रनको लक्ष्य सुदूरपश्चिमले २९.२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो।
सुदूरपश्चिमका लागि किरण ठगुन्नाले २६, खडक बोहराले २३, मिलन बोहराले अविजित १८ र कप्तान शेर मल्लले अविजित १० रन बनाए।
कर्णालीका लागि अनुज चनरा र दिवान पुनले २–२ विकेट लिए भने प्रकाश जैशी र दीपेन्द्र रावतले १–१ विकेट लिए।
पहिले टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले ३२ ओभरमा सबै विकेट गुमाउँदै ११९ रनको योगफल तयार पारेको थियो। कर्णालीका लागि विपिन रावलले ३३, सुनिल धमलाले २३, र अरविन्द घर्तीले १३ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
सुदूरपश्चिमका लागि हेमन्त धामीले ७ ओभरमा १ मेडनसहित १६ रन खर्चेर ६ विकेट लिए। नारायण जोशी, अशोक धामी, मिलन बोहरा र शेर मल्लले १–१ विकेट लिए।
जितसँगै सुदूरपश्चिमले २ अंक जोडेको छ। पराजित कर्णालीको २ खेलबाट १ अंक छ। वर्षाका कारण पहिलो खेल हुन नसक्दा कर्णालीले लुम्बिनीसँग अंक बाँडेको थियो।
