काठमाडौँ – खर्बुजाको सिजन सुरु भएसँगै बजारमा यसको आगमन बढ्न थालेको छ। अहिले कुलेश्वर फलफूल बजार र कालीमाटी तरकारी तथा फलफूल बजारमा भारतका विभिन्न राज्यबाट खर्बुजा भित्रिन थालेको छ।
व्यापारीका अनुसार हाल बजारमा भारतको महाराष्ट्र, आन्ध्रप्रदेश र मध्य प्रदेशबाट ल्याइएको खर्बुजा बिक्रीका लागि आएको हो। कुलेश्वर बजारमा अहिले खर्बुजा प्रति किलो ४०–४५ रुपैयाँमा बिक्री भइरहेको छ।
खर्बुजाको सिजन भर्खरै सुरु भएकाले नेपाली उत्पादन भने अझै बजारमा आएको छैन। स्थानीय उत्पादन बजारमा आउन करिब एक महिना लाग्ने व्यापारीहरूको भनाइ छ। नेपाली खर्बुजा बजारमा आएपछि मूल्य केही घट्ने अपेक्षा गरिएको छ।
