काठमाडौँ – सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ व्यवस्थापनको तयारीमा जुटिरहेको छ। सचिवालयले चैत ५ गते सूचनामार्फत निर्वाचित सांसदहरुलाई शपथ कार्यक्रममा सहभागी हुन आह्वान गरिसकेको छ।
शपथ समारोह यही चैत १२ गते अपराह्न २ बजे आयोजना गरिएको छ। निर्धारित समयभन्दा दुई घण्टा अगावै औपचारिक वा सांस्कृतिक पोसाकमा उपस्थित हुन सचिवालयले अनुरोध गरेको छ।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य ७८ वर्षीय अर्जुननरसिंह केसीले चैत ११ गते राष्ट्रपति रामचन्द्र पौडेलको शीलत निवासमा शपथ लिँदै नवनिर्वाचित सदस्यलाई शपथ दिलाउनेछन्।
संविधानको धारा ८८ अनुसार प्रत्येक सदस्यले पहिलो बैठकमा भाग लिनुअघि शपथ लिनु अनिवार्य छ। धारा ९१ (५) अनुसार सभामुख वा उपसभामुख नभए वा दुवै पद रिक्त भएमा बैठकको अध्यक्षता ज्येष्ठ सदस्यले गर्ने व्यवस्था छ।
शपथ समारोहपछि नवनिर्वाचित सदस्यलाई प्रतिनिधिसभा सदस्यको प्रतीक चिह्न (लोगो), संविधान, संसद् नियमावली, पदाधिकारी तथा सदस्य सुविधा सम्बन्धी सामग्री उपलब्ध गराइनेछ।
सचिवालयका प्रवक्ता एकराम गिरीले भने, “सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा सांसदहरुको शपथ र प्रारम्भिक बैठकको तयारी भइरहेको छ। हलभित्रको पूर्वाधार निर्माण सम्पन्न भइसकेको छ भने केही प्राविधिक काम अन्तिम चरणमा पुगेको छ।”
निर्वाचनपछि संसदीय प्रतिनिधित्वको आधारमा सचिवालयले दलको कार्यालयसमेत व्यवस्थापन गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका १८२, नेपाली कांग्रेसका ३८, नेपाली कम्युनिष्ट पार्टी (एमाले)का २५, नेकपा (माओवादी) का १७, श्रम संस्कृति पार्टीका ७, राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ र स्वतन्त्र सांसद १ जना निर्वाचित भएका छन्।
नेपाली कांग्रेस र नेकपा (एमाले)लाई साबिककै कार्यालयमा राखिएको छ। नेकपा (माओवादी), श्रम संस्कृति र राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यालयका लागि अल्पकालीन व्यवस्था गरिएको छ। नयाँ संसद् भवन पूरा भएपछि सबै दलको कार्यालय त्यही भवनभित्र रहने र प्रत्येक सांसदका लागि बेग्लाबेग्लै चेम्बरको व्यवस्था गरिने सचिवालयले जनाएको छ।
