काठमाडौँ : २० वर्षमुनिको साफ च्याम्पियनशिप आजदेखि माल्दिभ्समा सुरु भएको छ। उद्घाटन खेलमा नेपालले दिउँसो साढे ४ बजे मालेस्थित नेशनल स्टेडियममा भूटानसँग खेल्नेछ। आजै राति सवा ९ बजे आयोजक माल्दिभ्स र श्रीलङ्का बीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, भूटान, श्रीलङ्का र माल्दिभ्स रहेका छन् भने समूह ‘बी’ मा भारत, पाकिस्तान र बङ्गलादेश रहेका छन्। प्रतियोगितामा कुल सात दक्षिण एशियाली टोली सहभागी छन्।
प्रतियोगिताको नियम अनुसार प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। २० वर्षमुनिको साफ च्याम्पियनशिपको फाइनल खेल आउँदो अप्रिल ३ मा खेलिने कार्यक्रम रहेको छ।
यस च्याम्पियनशिपले युवा फुटबल खेलाडीहरूलाई अन्तर्राष्ट्रिय अनुभव प्राप्त गर्ने अवसर दिने र दक्षिण एशियाली फुटबल स्तर बढाउने विश्वास गरिएको छ।
