काठमाडौँ : खानी तथा भूगर्भ विभागले चुनढुङ्गा, रातोमाटो, धातु, पत्थरलगायत १६ प्रकारका खनिजजन्य वस्तुको उत्खनन अनुमति प्रदान गरेको छ। स्वदेशमा रहेको खनिज सम्पदाको अन्वेषणमार्फत खनिजजन्य उद्योगको विकास गरी देशमा औद्योगिक उत्पादन र आर्थिक वृद्धिमा योगदान पुर्याउने उद्देश्यले यो अनुमति दिइएको हो।
विभागका सूचना अधिकारी नारायण बाँस्कोटाका अनुसार, गत आर्थिक वर्षसम्म अनुमति पाएका खनिजजन्य वस्तुमा टुर्मालिन, टल्क, क्वार्ज, काइनाइट, मार्बल, फलाम, जिङ्क, क्वार्जजाइट, म्याग्नेसाइट, डोलोमाइट, तामालगायत खानी समावेश छन्। खानी अनुमतिपत्र प्रदान गर्ने नियमअनुसार, अनुमति माग गरेका कम्पनीका प्रस्ताव अध्ययन गरी आवश्यक प्रक्रिया पूरा भएका १६६ संस्थालाई अनुमति दिइएको छ।
खनिज उत्खनन अनुमति दिँदा विभागले वातावरणीय प्रभाव नपर्ने, दर्ता तथा उत्पादनको अनुपातमा राजस्व संकलन, स्थानीय लाभ सुनिश्चित गर्ने लगायत आवश्यक सर्तहरू तोकेको छ। करिब एक सय चुनढुङ्गा खानीले उत्खननको इजाजत प्राप्त गरेका छन्।
सूचना अधिकारी बाँस्कोटाले भने, देशमा खनिज सम्पदाको विकासमा चुनौती हुने कारणमा पुँजी र आधुनिक प्रविधिको अभाव, भौगोलिक विकटता, पूर्वाधारको कमी, वातावरणीय जोखिम, महँगो उपकरण र लगानीमैत्री वातावरण नबन्नु पर्छ। धेरैजसो खनिज दुर्गम र भिरालो स्थानमा रहेकाले उत्खनन र ढुवानी दुबै चुनौतीपूर्ण रहेको छ।
विभागको उद्देश्य खनिज सम्पदाको खोजतलास, अन्वेषण, विकास र उत्खननमार्फत स्वदेशी उद्योगलाई प्रोत्साहन गरी आर्थिक विकासमा योगदान पुर्याउनु रहेको जनाइएको छ।
