पाल्पा : तिनाउ खोलामा नुहाउने क्रममा भारतीय नागरिकको मृत्यु भएको छ। आइतबार दिउँसो नुहाउने क्रममा दुई भारतीय नागरिक बेपत्ता भएका थिए, जसमा एक जनाको शव सोमबार बिहान फेला परेको छ भने अर्काको खोजी कार्य जारी छ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार आइतबार दिउँसो करिब २ बजेतिर तिनाउ गाउँपालिका–३ स्थित खोलामा भारतबाट घुम्न आएका ७ जनामध्ये दुई जना खोलामा बगेर बेपत्ता भएका थिए।
डुबेको स्थानबाट करिब १०० मिटर तल एक जनाको शव सोमबार बिहान साढे १० बजेतिर फेला परेको डीएसपी होमबहादुर चौधरीले जानकारी दिए।
प्रहरीका अनुसार बेपत्ता हुनेहरू भारतको उत्तर प्रदेश अन्तर्गत सन्तकबीर नगर क्षेत्रका युवक हुन्। अर्का युवकको खोजी कार्य अहिले पनि जारी रहेको छ। स्थानीय प्रहरी टोली र सुरक्षाकर्मीहरू दुर्घटना स्थलमा उद्धार प्रयासमा सक्रिय छन्।
