काठमाडौँ : वातावरण मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले यस वर्ष वन डढेलोका घटनामा कमी आउने विश्वास व्यक्त गरेका छन्। सोमबार काठमाडौंमा आयोजित वन डढेलो सम्बन्धी कार्यक्रममा बोल्दै उनले हिउँदे वर्षाले वनमा डढेलो लाग्ने प्राकृतिक सम्भावना कम गरेको बताएका छन्।
सचिव शर्माका अनुसार पुस र माघ महिनामा भएको वर्षाले वन क्षेत्रको माटोमा चिसोपन बढाएको छ र पातपतिङ्गरहरू कुहिने प्रक्रिया सुरु भएको छ, जसले डढेलोका लागि आवश्यक इन्धन घटाएको छ। उनले भने, “हाम्रो अनुभवमा जनवरीको अन्त्यतिर वा हिउँदमा राम्रो वर्षा भएमा वर्षभर वन डढेलोका घटना कम हुने गर्छन्। यसपटक वर्षाले पातपतिङ्गर कुहाउने र माटोले ओस सोस्ने भएकाले आगलागीको जोखिम धेरै हदसम्म घटेको छ।”
यद्यपि, प्राकृतिक रूपमा जोखिम कम देखिए पनि मानवीय लापरवाही वा आकस्मिक घटनाबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि सतर्क रहनुपर्नेमा सचिव शर्माले जोड दिएका छन्। कतिपय क्षेत्रमा डढेलोको जोखिम कम भए पनि असावधानीका कारण सानो आगलागीले ठूलो क्षति पुर्याउन सक्ने भएकाले सुरक्षा सतर्कता अपनाउन उनले आग्रह गरे।
सचिव शर्माले भने, तापक्रमको वृद्धि र जलवायु परिवर्तनका अन्य उतारचढावले पनि वन डढेलोको घटनालाई असर पार्ने सम्भावना रहेको छ। वन डढेलो नियन्त्रण र जनचेतना अभिवृद्धिका लागि थप अनुसन्धानको आवश्यकता रहेको उनले औँल्याए। कुन क्षेत्र बढी जोखिममा छन् र आगलागीलाई कसरी प्रभावकारी रूपमा नियन्त्रण गर्ने भन्नेबारे विस्तृत अध्ययन भएमा मात्र भविष्यमा हुने क्षति न्यून गर्न सकिने सचिव शर्माको भनाइ छ।
सरकारी संयन्त्र र स्थानीय समुदाय मिलेर डढेलो नियन्त्रणमा सक्रिय हुनुपर्ने अवस्था रहेको उनले बताए।
