त्रिपुरासुन्दरी : त्रिपुरासुन्दरी नगरपालिकामा अवैध रूपमा जडीबुटी सङ्कलन गरेको आरोपमा चार जना पक्राउ परेका छन्। उनीहरूलाई नियन्त्रणमा लिएर शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज प्रशासनमा बुझाइएको छ।
नेपाली सेनाको संयुक्त गस्ती टोलीले आज बिहान ३ः३० बजे त्रिपुरासुन्दरी नगरपालिका–१, त्रिपुराकोट क्षेत्रमा छापा मार्दा करिब ३५ क्विन्टल पदमचाल जडीबुटी र दुई ट्याक्टर नियन्त्रणमा लिएको छ।
श्री सङ्ग्राम सार्दुल गुल्मका उपसेनानी सुशील दाहालको कमान्डमा नेपाली सेना र निकुञ्ज प्रशासन कार्यालयका सिनियर गेम स्काउटको संयुक्त टोलीले उक्त कारबाही गरेको जनाइएको छ।
पक्राउ पर्नेमा त्रिपुरासुन्दरी–५ का ३६ वर्षीय नरेश बुढा, सल्यान कुमाख गाउँपालिका–४ का २५ वर्षीय एलिश बुढा (चालक), रुकुमपश्चिम आठबिस नगरपालिका–७ का ४८ वर्षीय कृष्ण विक (चालक) र त्रिपुरासुन्दरी–५ का ३३ वर्षीय विकास रोकाया रहेका छन्।
उनीहरूलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि दोहोरो भरपाइसहित निकुञ्ज प्रशासन कार्यालयमा बुझाइएको छ। शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयका सहायक संरक्षण अधिकृत विज्ञान सेनका अनुसार निकुञ्ज क्षेत्रबाट अनुमति नलिई जडीबुटी सङ्कलन गरेको र जिल्ला बाहिर पठाउने क्रममा पक्राउ गरिएको हो।
पछिल्लो समय डोल्पामा जठामसी (भुल्ते) सङ्कलनमा प्रतिबन्ध लगाइएको छ भने पदमचालको हकमा मात्र कार्ययोजना अध्ययन गरी उपयुक्त क्षेत्र पहिचान भएपछि अनुमति दिइने व्यवस्था गरिएको छ। निकुञ्ज प्रशासनले यस घटनालाई कडा रूपमा लिएको छ र भविष्यमा यस्ता अवैध गतिविधि रोक्न निगरानी बढाउने जनाएको छ।
