वाशिङ्टन : अमेरिकाले संसारभर रहेका आफ्ना नागरिकलाई सतर्क रहन आह्वान गरेको छ। विशेषगरी पश्चिम एसियामा जारी तनावका बीच अमेरिकी विदेश विभागले आफ्ना नागरिकलाई सावधानी अपनाउन आग्रह गरेको हो।
विदेश विभागले सामाजिक सञ्जाल एक्समार्फत् जारी सूचनामा उल्लेख गरेको छ, “समय–समयमा एयर स्पेस अवरुद्ध हुन सक्ने भएकाले यात्रामा अवरोध आउन सक्छ। मध्यपूर्व बाहिर रहेका अमेरिकी कूटनीतिक नियोगहरू समेत निशानामा पर्न सक्छन्। त्यसैले इरानले विदेशमा रहेका अमेरिकी नागरिकहरूलाई लक्षित गर्न सक्छ।”
पछिल्ला दिनमा अमेरिका, इजरायल र इरानबीच पश्चिम एसियामा तनाव लगातार चर्किँदै गएको छ। यस्तो परिस्थितिमा अमेरिकी नागरिकहरूलाई उच्च सतर्कता अपनाउन, गैरआवश्यक यात्रा टार्न र सुरक्षा निर्देशना पालना गर्न विदेश विभागले सुझाव दिएको छ।
