विराटनगर : कोशी अस्पतालले आफ्नै ‘ब्लड बैंक’ स्थापना गर्न लागिएको छ। कोशी प्रदेशकै सबैभन्दा ठूलो अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि दैनिक रगतको अभाव समाधान गर्न यस योजना थालिएको हो। प्रादेशिक रक्तसञ्चार सेवा विराटनगरका अनुसार कोशी प्रदेशमा दैनिक करिब ९००–१००० युनिट रगतको माग हुने गरेको छ।
अस्पतालका प्रशासन प्रमुख त्रिलोचन न्यौपानेका अनुसार आकस्मिक अवस्थाका बिरामीलाई समयमै रगत उपलब्ध गराउन अस्पतालले आफ्नै संरचनामा ब्लड बैंक स्थापना गर्न लागेको हो। दैनिक रगत अभावका कारण प्रसूति र शल्यक्रियाका बिरामीलाई समयमै रगत जुटाउन हम्मेहम्मे पर्ने गरेको उनले बताए।
अस्पतालले बल्ड बैंक सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण, उपकरण जडान तथा सेवा सञ्चालनको व्यवस्थाका लागि गत पुसमा बोलपत्र आह्वान गरी प्रक्रिया सुरु गरेको थियो। करिब २४ लाख रुपैयाँको बजेटमा निर्माण हुने ब्लड बैंकले रगत सङ्कलन, परीक्षण र भण्डारण प्रक्रिया छिटो गर्ने भएकाले आकस्मिक सेवामा सुधार आउने अपेक्षा गरिएको छ।
प्रशासन प्रमुख न्यौपानेले भने, “अहिले हामी बाह्य निकायमा निर्भर छौँ, जसका कारण कतिपय अवस्थामा रगत अभाव हुन्छ। अस्पतालमै ब्लड बैंक सञ्चालनमा आएपछि बिरामीलाई छिटो र सहज रूपमा सेवा दिन सकिन्छ।”
सञ्चालनका लागि आवश्यक कर्मचारीको दरबन्दी खुलाइसकिएको र छनोट प्रक्रियामा रहेको उनले जानकारी दिए। अस्पतालमा टाढा जिल्ला र छिमेकी भारतीय सहरबाटसमेत बिरामी आउँदा रगतको माग अत्यधिक हुने गरेको चिकित्सकहरूले बताए।
अस्पतालका स्त्री तथा प्रसूतिरोग विभाग प्रमुख डा. अन्जु देवका अनुसार प्रसूति र शल्यक्रियाका बिरामीमा रगतको अत्यधिक आवश्यकता हुने भए पनि अहिले रेडक्रस र अन्य निजी अस्पतालमा निर्भर रहनुपर्ने बाध्यता रहेको छ। डा. देवले ब्लड बैंक स्थापना भएपछि बिरामीलाई आफैं रगत खोज्नुपर्ने अवस्था हट्ने र सेवा छिटो पुग्ने उल्लेख गरिन्।
कोशी अस्पतालको आफ्नै ब्लड बैंकले मोरङ जिल्लाका अस्पतालहरूमा रगतको अभाव कम गर्न र नियमित रक्तदान कार्यक्रमलाई प्रभावकारी बनाउन पनि मद्दत पुग्ने अपेक्षा गरिएको छ।
