मोरङको सुन्दरहरैँचा नगरपालिका–२ स्थित हिमाल चोक नजिकै सडक छेउको नालीमा एक युवक मृत फेला परेका छन्। मृत्यु हुनेमा ३४ वर्षीय अनिल (गोविन्द) अधिकारी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी लीलाराज लामिछानेका अनुसार सोमबार बिहान स्थानीयले नालीमा घोप्टो अवस्थामा शव देखेपछि प्रहरीलाई जानकारी दिएका थिए। त्यसपछि इन्स्पेक्टर लेखनाथ दाहालको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ।
प्रारम्भिक अनुसन्धानका आधारमा अधिकारी राति साइकलमा घर फर्किने क्रममा नालीमा खसेको हुन सक्ने आशंका गरिएको छ। घटनास्थल नजिकै उनको साइकलसमेत फेला परेको प्रहरीले जनाएको छ। डीएसपी लामिछानेका अनुसार नाली गहिरो भएकाले लडेपछि उठ्न नसक्दा मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ।
शवलाई पोस्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पताल पठाइएको छ। घटनाको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
