राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अखिल नेपाल फुटबल संघ (एन्फा)बीचको विवादका कारण नेपाल र हङकङबीच हुने तय भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल रद्द भएको छ। आइतबार दिनभरि दुवै पक्षबीच आरोप–प्रत्यारोप चल्दा अन्ततः खेल नै प्रभावित बनेको हो।
लामो समयपछि घरेलु मैदानमा अन्तर्राष्ट्रिय खेल आयोजना हुने तयारी भइरहेको थियो। साथै, राष्ट्रिय पुरुष फुटबल टोलीका नवनियुक्त प्रशिक्षकका लागि यो पहिलो परीक्षा पनि हुने अपेक्षा गरिएको थियो। तर, दशरथ रंगशाला उपलब्ध गराउन राखेपबाट स्वीकृति नपाएको भन्दै एन्फाले खेल रद्द गर्नुपरेको जनाएको छ।
खेल रद्दको सूचना सार्वजनिक भएको केही समयमै राखेपले एन्फाको दाबीको खण्डन गर्दै आफूले समयमै स्वीकृति दिएको पत्र सार्वजनिक गरेको थियो। राखेपले एन्फालाई आफ्नो कमजोरी ढाकछोप गर्न अरूलाई दोष नदिन चेतावनीसमेत दिएको छ।
यसैबीच, एन्फाले सोमबार विज्ञप्ति जारी गर्दै राखेपको दाबी अस्वीकार गरेको छ। एन्फाका अनुसार खेल स्थगनको निर्णय भइसकेपछि मात्र राखेपले स्वीकृति दिएको दाबी गर्दै विज्ञप्ति सार्वजनिक गरेको हो। साथै, हालसम्म कुनै पनि आधिकारिक वा लिखित स्वीकृति नपाएको एन्फाले स्पष्ट पारेको छ।
एन्फाले मैदान स्वीकृतिका लागि आवश्यक सबै प्रक्रिया पूरा गरेको र पटक–पटक राखेप धाएको उल्लेख गरेको छ। पछिल्लोपटक चैत ६ गते अनुरोध गर्दा चैत ८ गते पत्र लिन आउन मौखिक जानकारी दिइए पनि सो दिन बिहान दुई घण्टा कार्यालयमा बसेर पनि लिखित स्वीकृति नदिइएको एन्फाको भनाइ छ।
एन्फाका अनुसार, सम्बन्धित कर्मचारीले एन्फाले निर्वाचन स्थगन गरेको पत्र नदिएसम्म मैदान उपलब्ध नहुने जवाफ दिएका थिए। सीमित समयका कारण अन्ततः खेल स्थगन गर्नुपरेको एन्फाले जनाएको छ।
यस घटनाले नेपाली फुटबलमा समन्वय अभाव र प्रशासनिक कमजोरी उजागर गरेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।
