आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पूर्वी नेपालका प्रमुख सहरहरूलाई लक्षित गरी ‘जाउँ है पोखरा’ अभियान सुरु गरिएको छ। होटेल सङ्घ नेपाल (हान) पोखराको आयोजनामा तथा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको सहकार्यमा सुरु भएको उक्त कार्यक्रम चैत १३ गतेसम्म सञ्चालन हुनेछ।
विगत २२ वर्षदेखि सञ्चालन हुँदै आएको यो अभियानअन्तर्गत वीरगञ्ज, हेटौँडा, विराटनगर र इलामलगायत सहरमा पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम गरिने सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए। अभियानका क्रममा पोखराका पर्यटन तथा होटेल व्यवसायी र सञ्चारकर्मीसहितको १९ सदस्यीय टोलीले पूर्वी नेपालका व्यवसायीसँग अन्तरक्रिया, साझेदारी र प्रचार–प्रसारका गतिविधि सञ्चालन गर्नेछ।
यस क्रममा आन्तरिक पर्यटन प्रवर्द्धनका लागि विभिन्न आकर्षक प्याकेजहरू सार्वजनिक गरिनेछन्। साथै, चैत २९ देखि वैशाख १ गतेसम्म पोखराको फेवाताल किनारस्थित लेकसाइड क्षेत्रमा आयोजना हुने ‘फेवा नव वर्ष महोत्सव’मा सहभागी हुन पूर्वी नेपालका नागरिकलाई निमन्त्रणा दिइने कार्यक्रम पनि अभियानको मुख्य उद्देश्य रहेको छ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले पोखरालाई पर्यटनको राजधानीका रूपमा थप सुदृढ बनाउन यस्ता अभियानले महत्वपूर्ण योगदान पुर्याउने बताए। कार्यक्रममार्फत पूर्वी नेपाल र पोखराबीच पर्यटकीय साझेदारी विस्तार गर्ने लक्ष्य राखिएको छ।
यसैगरी, पोखरा–भद्रपुर तथा पोखरा–विराटनगर सिधा हवाई सेवा पुनः नियमित गर्ने र ती सहरबाट पोखरासम्म स्तरीय पर्यटक बस सेवा सञ्चालनका लागि समेत सहकार्यको प्रस्ताव अघि सारिने जनाइएको छ।
पोखराको होटेल क्षेत्रमा करिब छ खर्ब रुपैयाँ लगानी भइसकेको र यहाँ करिब एक हजार २०० होटेल सञ्चालनमा रहेको जानकारी दिँदै अध्यक्ष सुवेदीले यस क्षेत्रबाट करिब १५ हजार जनाले प्रत्यक्ष रोजगारी पाएको बताए।
