इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा संरचनामाथि हमला भए विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्ग ‘स्ट्रेट अफ होर्मुज’ पूर्ण रूपमा बन्द गर्ने चेतावनी दिएको छ।
इरानका विदेशमन्त्री अब्बास अरघचीले भने हाल उक्त जलडमरु बन्द नभएको स्पष्ट पारेका छन्। तर अमेरिका र इजरायलको गतिविधिका कारण समुद्री जहाजहरू आवतजावतमा हिच्किचाइरहेको उनले बताएका छन्।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मार्च २१ मा ४८ घण्टाभित्र होर्मुज स्ट्रेट खुला नगरे इरानका पावर प्लान्टहरू नष्ट गर्ने चेतावनी दिएका थिए। त्यसको जवाफमा आईआरजीसीले ऊर्जा संरचनामाथि आक्रमण भए पुनर्निर्माण नहुँदासम्म जलडमरु बन्द गरिने उल्लेख गरेको हो।
फारसको खाडी, ओमानको खाडी र अरब सागर जोड्ने होर्मुज जलडमरु विश्व व्यापारका लागि अत्यन्त संवेदनशील मार्ग हो। यसमार्ग हुँदै विश्वको करिब २० प्रतिशत पेट्रोलियम पदार्थ ओसार–पसार हुने गर्छ। पछिल्ला तनावका कारण यहाँ आंशिक अवरोध हुँदा आपूर्ति प्रभावित भई अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्न थालेको छ।
ट्रम्पको चेतावनीपछि आईआरजीसीले इजरायलका ऊर्जा स्थल, पावर प्लान्ट र आईटी संरचनामाथि व्यापक हमला गर्ने चेतावनीसमेत दिएको छ। साथै अमेरिकी लगानी भएका अन्य देशका ऊर्जा संरचनाहरू पनि निशानामा पर्ने बताइएको छ।
विदेशमन्त्री अरघचीले भने सामाजिक सञ्जालमार्फत् जलडमरु बन्द नभएको दोहोर्याउँदै जहाज बीमा कम्पनीहरू ‘युद्धको जोखिम’ बाट डराएको बताएका छन्। उनका अनुसार समुद्री मार्गमा देखिएको अवरोध अमेरिका र इजरायलको व्यवहारकै परिणाम हो।
यसबीच, अमेरिकी चेतावनीपछि इरान–इजरायलबीच तनाव थप चर्किएको छ। इरानले इजरायलमाथि मिसाइल आक्रमण तीव्र पारेको छ भने इजरायली वायुसेनाले अधिकांश मिसाइलहरू नष्ट गरिएको दाबी गरेको छ।
