नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको छ। चुनावी हारको नैतिक जिम्मेवारी लिँदै थापाले गत बुधबार उपसभापति विश्वप्रकाश शर्मासमक्ष राजीनामा बुझाएका थिए।
राजीनामाबारे आज बसेको केन्द्रीय कार्यसमिति बैठकमा विस्तृत छलफल भएपछि त्यसलाई अस्वीकार गर्ने निर्णय गरिएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए। बैठकले निर्वाचनमा पराजय हुनुका कारण संरचनागत कमजोरी र नियन्त्रण बाहिरका परिस्थितिलाई मुख्य कारकका रूपमा औँल्याएको छ।
प्रवक्ता चालिसेका अनुसार वर्तमान जटिल राष्ट्रिय परिस्थितिमा थापाको नेतृत्व अझ आवश्यक ठहरिएको छ। राजीनामा स्वीकृत गरे पार्टीभित्र अस्थिरता, अन्योल र कार्यकर्ताको मनोबलमा गिरावट आउने सम्भावना देखिएकाले त्यसलाई अस्वीकार गरिएको उनले बताए। उनले राजीनामा नैतिक र स्वेच्छिक विषय भएकाले त्यसको सम्मान गर्दै अस्वीकार गर्नु उपयुक्त भएको उल्लेख गरे।
गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट थापा सभापतिमा निर्वाचित भएका थिए। फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले ३८ सिट मात्रै जितेको थियो।
विशेष महाधिवेशनपछि अघि सारिएको ‘कांग्रेस २.०’ सुधार कार्यक्रमलाई कार्यान्वयन गर्न पनि थापाकै नेतृत्व आवश्यक ठहरिएको प्रवक्ता चालिसेले बताए। अब पार्टीलाई आगामी १५औँ महाधिवेशनतर्फ केन्द्रित गर्दै अघि बढ्ने निर्णय गरिएको छ।
