जुम्ला – नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले नियमित उडान सञ्चालन नगरेको भन्दै आक्रोशित यात्रुहरूले आइतबार जुम्लास्थित निगमको कार्यालयमा तालाबन्दी गरेका छन्।
फागुन २४ गतेदेखि निरन्तर उडान अवरुद्ध भएपछि दिक्क भएका सर्वसाधारण तथा यात्रुहरूले बाध्य भएर कार्यालयमा ताला लगाएको बताएका छन्। यात्रुहरूका अनुसार नेपाल एयरलाइन्सले अन्य जिल्लाहरूमा नियमित उडान गरिरहे पनि जुम्लामा भने पटक–पटक प्राविधिक कारण देखाउँदै उडान रद्द गर्दै आएको छ।
आइतबार उडान हुने सूचना पाएर विमानस्थल पुगेका यात्रुहरू अन्तिम समयमा उडान रद्द गरिएको जानकारी पाएपछि थप आक्रोशित बनेका थिए। उनीहरूले यसलाई गैरजिम्मेवार व्यवहार भन्दै विरोध जनाएका छन्।
उडान नहुँदा सबैभन्दा बढी मारमा बिरामीहरू परेका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट थप उपचारका लागि अन्यत्र रेफर गरिएका गम्भीर बिरामीहरू जहाजको प्रतीक्षामा छटपटाइरहेका छन्। यस्तो संवेदनशील अवस्थामा पनि निगमले पर्याप्त ध्यान नदिएको यात्रुहरूको गुनासो छ।
एक आक्रोशित यात्रुले भने, “अन्य जिल्लामा उडान भइरहेको छ, तर जुम्लामा सधैं प्राविधिक समस्या देखाएर उडान रद्द गरिन्छ। बिरामीको ज्यान जोखिममा हुँदा पनि सरकारी जहाजले जिम्मेवारी पूरा नगर्नु दुःखद हो।”
लामो समयदेखि नियमित उडान नहुँदा जुम्लावासीले सास्ती भोग्दै आएका छन्। यात्रुहरूले तत्काल उडान नियमित नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।
यस घटनाले दुर्गम क्षेत्रका नागरिकका लागि हवाई सेवाको भरपर्दोपन र व्यवस्थापनमा गम्भीर प्रश्न उठाएको छ।
