काठमाडौं – विभागीय टोली नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ। आइतबार मूलपानी क्रिकेट मैदान (माथिल्लो) मा भएको खेलमा एपीएफले बागमती प्रदेशलाई ७१ रनले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो।
एपीएफले दिएको २७२ रनको लक्ष्य पछ्याएको बागमती प्रदेश ४५.१ ओभरमा सबै विकेट गुमाउँदै २०० रनमै समेटियो। बागमतीका लागि विवेक मगरले ३४ रन बनाउँदै संघर्ष गरे भने सुवास खत्री (२७), उत्तम थापामगर (२६), शिवम तिवारी (२५), रिजन ढकाल (२०) र इशान पाण्डे (१७) ले मध्यम योगदान दिए। तर, टोलीलाई जिततर्फ लैजान पर्याप्त हुन सकेन।
बलिङतर्फ एपीएफका अभिषेक गौतम र कप्तान रोहित कुमार पौडेलले उत्कृष्ट प्रदर्शन गर्दै समान ३–३ विकेट लिए। त्यसैगरी कमलसिंह ऐरी, नन्दन यादव, युवराज खत्री र अमरसिंह रौउटेलाले समान १–१ विकेट हात पारे।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २७१ रनको प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो। एपीएफका ओपनर आसिफ शेखले शानदार शतक प्रहार गर्दै टोलीको जितको आधार तयार पारे। उनले १०५ बलमा १४ चौका र ३ छक्काको मद्दतले ११४ रनको उत्कृष्ट इनिङ्स खेले।
यसैगरी सन्दीप जोराले ५२ रनको अर्धशतकीय योगदान गर्दा लोकश बम (२९), युवराज खत्री (अविजित २६) र सुमित महर्जन (१८) ले पनि उपयोगी रन जोडे।
बागमतीका लागि रिजन ढकालले ४ विकेट लिए भने इशान पाण्डेले २ विकेट हात पारे। सोनु देवकोटा र कप्तान सन्दीप लामिछानेले समान १–१ विकेट लिए।
समग्रमा एपीएफले ब्याटिङ र बलिङ दुवै पक्षमा सन्तुलित प्रदर्शन गर्दै प्रतियोगितामा बलियो दाबेदारी प्रस्तुत गरेको छ।
