काठमाडौँ – बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशका १३ वटै जिल्लामा ‘एक जिल्ला एक स्वस्थ सहर’ घोषणा गर्ने तयारी अघि बढाएको छ। यस अभियानमार्फत प्रत्येक जिल्लाको एउटा सहर वा स्थानीय तहलाई नमूना स्वस्थ सहरका रूपमा विकास गर्ने योजना बनाइएको छ।
बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरका अनुसार मन्त्रालयले स्वस्थ, सुरक्षित र दिगो सहर निर्माण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिरहेको छ। उनले प्रत्येक जिल्लामा स्वास्थ्यमैत्री वातावरण निर्माण, आधारभूत स्वास्थ्य पूर्वाधार विस्तार र नागरिकको जीवनस्तर सुधार गर्ने लक्ष्य राखिएको बताए।
यस अभियानअन्तर्गत प्रदेशका १३ वटै जिल्लाका जनस्वास्थ्य कार्यालय प्रमुख, जिल्ला अस्पतालका प्रमुख तथा सम्बन्धित सरोकारवाला निकायहरूसँग छलफल तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भइसकेको छ। सो अभिमुखीकरणबाट प्राप्त सुझावका आधारमा आवश्यक कार्ययोजना तयार गरी कार्यान्वयन प्रक्रिया अघि बढाइने मन्त्री थापा मगरले जानकारी दिए।
अभियानको मुख्य उद्देश्य जिल्लास्तरमै सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु, सरसफाइ तथा जनस्वास्थ्यमा सुधार ल्याउनु, र नागरिकलाई आफ्नै क्षेत्रमै उपचार पाउने व्यवस्था मिलाउनु रहेको छ। यसले स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुका साथै समग्र जनस्वास्थ्य प्रणालीलाई सुदृढ बनाउने अपेक्षा गरिएको छ।
प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव सुमित्रा गौतमले स्वास्थ्य क्षेत्रको प्रभावकारी कार्यान्वयन, उपलब्धिको मूल्याङ्कन र सुधारका सम्भावनाको पहिचान गर्दै अभियान सञ्चालन गर्न लागिएको बताइन्। उनका अनुसार बागमती प्रदेशलाई स्वास्थ्य क्षेत्रमा नमूना प्रदेश बनाउने लक्ष्यसहित व्यवहारिक, दिगो र परिणाममुखी योजना तयार गरिएको छ।
उनले थपिन् कि प्रत्येक जिल्लामा स्वास्थ्य सेवाको गुणस्तर सुधार, सेवा पहुँच विस्तार, जनचेतना वृद्धि तथा प्रविधिको प्रभावकारी प्रयोगलाई प्राथमिकतामा राखिनेछ। साथै अस्पतालहरूलाई आधुनिक उपकरण र प्रविधिमैत्री बनाउने तथा व्यवस्थापन सुदृढ गर्ने तयारी पनि भइरहेको छ।
प्रदेश सरकारले प्रत्येक नागरिकले आफ्नै जिल्लामा सहज रूपमा उपचार पाउने वातावरण निर्माण गर्न विशेष ध्यान दिएको छ। यसका लागि स्वास्थ्य संस्था सुदृढीकरण, जनशक्ति व्यवस्थापन र सेवा विस्तारका कार्यक्रमहरू चरणबद्ध रूपमा कार्यान्वयन गरिनेछन्।
‘एक जिल्ला एक स्वस्थ सहर’ अभियान सफल भएमा बागमती प्रदेशमा स्वास्थ्य सेवाको पहुँच र गुणस्तरमा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ। यसले दीर्घकालीन रूपमा स्वस्थ नागरिक र दिगो विकासको आधार तयार गर्ने विश्वास गरिएको छ।
