काठमाण्डौ – नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टी सभापति गगन थापाले दिएको राजीनामा फिर्ता गर्नुपर्ने विषयमा केन्द्रीय सदस्यहरू पूर्ण रूपमा एकमत रहेको जानकारी दिनुभयो।
ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा जारी केन्द्रीय समितिको बैठकमा हालसम्म धारणा राख्ने ४६ जना केन्द्रीय सदस्य सबै राजीनामा अस्वीकृत गर्नुपर्ने पक्षमा रहेको प्रवक्ता चालिसेले जानकारी दिए। बैठक मुख्यतः दुई विषयमा केन्द्रित छ – प्रतिनिधि सभा सदस्य निर्वाचनको समीक्षा र सभापतिको राजीनामासम्बन्धी छलफल।
बैठकमा सभापतिको राजीनामा अस्वीकृत गर्ने प्रस्तावसमेत प्रस्तुत गरिएको छ। प्रवक्ता चालिसेले भने, “निर्वाचनको समीक्षा र सभापतिको राजीनामाका विषयमा छलफल भइरहेको छ। बैठकमा राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पनि सँगै छ, त्यसमा आधारित भएर अधिकांश साथीले राय राख्नुभएको छ। हालसम्म बोल्ने सबै केन्द्रीय सदस्यले राजीनामा फिर्ता हुनुपर्नेमा एकमत जाहेर गर्नुभएको छ।”
प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीले पराजय बेहोरेपछि सभापति थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिनुभएको थियो। तर, पार्टीभित्रको बहुमत सदस्यहरूले अब सभापतिको राजीनामा अस्वीकार गर्दै उहाँलाई पदमा कायम राख्ने निर्णय गर्न लागेका छन्।
