सुर्खेत – सुर्खेतकी १६ वर्षीया इनिशा बिक बलात्कारपछि हत्या भएकी भनिएकी घटनाको अनुसन्धान अझै सकिएको छैन र वास्तविक तथ्य बाहिर आउन बाँकी छ।
इनिशाका परिवार र आफन्तहरूले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै न्यायको माग गरिरहेका छन्। घटनापछि दुई सातादेखि इनिशाको शव कर्णाली प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले घटनाको तथ्य पत्ता लगाउन मृतक र आरोपितको मोबाइल तथा भजाइनल स्वाब परीक्षण भइरहेको जानकारी दिए। उनीहरूले बताए अनुसार केन्द्रीय विधि विज्ञान प्रयोगशालामा टक्सिकोजिकल तथा बायोसेरोलोजिकल परीक्षणका लागि नमूना पठाइएको छ। रिपोर्टहरू आएपछि घटनाको वास्तविक तथ्य खुल्ने अपेक्षा गरिएको छ।
हत्या प्रकरणमा संलग्न अभियुक्तहरूको बयान सकिए पनि उनीहरूले घटनामा इन्कारी बयान दिएका छन्। पक्राउ परेका मध्ये एक अभियुक्तले एक नाबालकले दुई वर्षदेखि इनिशासँग प्रेम सम्बन्धमा रहेको बताएका छन्। उनले आफूहरूबीच शारीरिक सम्बन्ध भएको र इनिशा बेहोस भएपछि साथीहरूको सहयोगमा उनलाई अस्पताल लैजान खोजिएको बयान दिएका छन्।
सिसिटिभी फुटेज अनुसार बिहान ६ बजे इनिशा र ती १६ वर्षीय नाबालक किशोर मात्र घटनास्थलमा पुगेको देखिएको छ। प्रहरीले यस बयान सत्य हो वा झूटो भनेर पत्ता लगाउन पोलिग्राफ परीक्षण पनि गर्दैछ। नेपालगन्जबाट पोलिग्राफ टोली खटिएको छ, जसले आरोपीहरूले बोलेको कुरा सही वा झूटो हो भन्ने पत्ता लगाउनेछ।
सुर्खेतको उषा बाल वाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत इनिशाको परिवार र समुदायले घटनामा संलग्नलाई कारबाही हुने विश्वस्त वातावरण नभएको भन्दै दबाब बढाइरहेका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रारम्भिक अनुसन्धान पूरा गरेपछि थप अनुसन्धानका लागि सीआईबीको टोली वीरेन्द्रनगर पुगेको छ। पोस्टमार्टम रिपोर्ट अनुसार अत्यधिक रक्तस्रावका कारण इनिशाको मृत्यु भएको पुष्टि भएको छ।
प्रहरीका अनुसार, घटनामा संलग्न प्रेमी भनिएका १६ वर्षीय किशोरसहित चार जनालाई पक्राउ गरी जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरिएको छ।
फागुन २३ गते इनिशा सामुदायिक जंगलमा मृत अवस्थामा भेटिएकी थिइन्। उनी सुर्खेत गुर्भाकोट, बडा खाली घरकी रहेकी थिइन् र वीरेन्द्रनगरमा बस्दै आएकी थिइन्।
