कपिलवस्तु – हिजो बिहानदेखि सुरु भएको हिन्दु र मुस्लिम समुदायबीचको विवाद अझैसम्म साम्य भएको छैन। कपिलवस्तु जिल्ला, महराजगञ्जका केही ठाउँमा स्थानीय युवा प्रदर्शनरत छन्।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक प्रकाश कुँवरले केही ठाउँमा प्रदर्शन जारी रहेको जानकारी दिएका छन्। उनले प्रदर्शन नियन्त्रण गर्न केही ठाउँमा लाठीचार्जसमेत गरिएको बताए।
घटनाको सुरु तब भएको थियो जब मुस्लिम समुदायले इद मनाउँदै गर्दा शनिबार महराजगञ्ज नगरपालिका–२ स्थित बरगदा र बहादुरगञ्ज क्षेत्रमा हिन्दु–मुस्लिम समुदायबीच झडप भएको थियो। झडपका क्रममा प्रहरीले गोली चलाउँदा ४ जना घाइते भएका थिए भने केही प्रहरी पनि घाइते भएका थिए।
स्थानीय प्रशासनले हिजो २ बजेदेखि अर्को सूचना जारी नभएसम्म निषेधाज्ञा लागू गरेको थियो।
प्रहरीले घटनाको थप विवरण जुटाउँदै साम्य गराउने प्रयासमा लागेको छ।
