मकवानपुरको बागमती गाउँपालिका–९ बेतिनीमा अवैध हतियारसहित एक व्यक्ति पक्राउ परेका छन्। ५७ वर्षीय सन्तकुमार प्रजापतिलाई भरूवा बन्दुक एक थानसहित प्रहरीले गएराति नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार प्रजापतिले आफ्नै घरमा बन्दुक लुकाइछिपाइ राखेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको टोलीले घर तलासी गरेको थियो। तलासीका क्रममा उक्त भरूवा बन्दुक फेला परेपछि उनलाई पक्राउ गरिएको हो।
केन्द्रीय प्रहरी समाचार कक्षले यस घटनाबारे जानकारी दिँदै पक्राउ परेका प्रजापतिमाथि थप अनुसन्धान भइरहेको जनाएको छ। प्रहरीले अवैध हतियार राख्ने तथा प्रयोगसम्बन्धी कानुनी पक्षमा समेत अनुसन्धान अगाडि बढाएको छ।
