धनगढी, कञ्चनपुर – कञ्चनपुर जिल्ला कारागारभित्र थुनुवाबीच आपसी विवाद हुँदा एक जना घाइते भएका छन्। कारागारको आन्तरिक विवादका क्रममा चिर्पट प्रहार हुँदा वेदकोट नगरपालिका–९ का गणेश विष्ट घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीका अनुसार, लागूऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका विष्टमाथि अर्का थुनुवा भुवन ऐरले आक्रमण गरेका थिए।
घटना ब्लक ‘ए’ मा रहेका विष्टमाथि ब्लक ‘बी’ मा रहेका शुक्लाफाँटा नगरपालिका–९ का ऐरले चिर्पट प्रहार गर्ने क्रममा भएको थियो। प्रहरीले जनाएको अनुसार, आक्रमण गर्ने ऐर पनि लागूऔषध सम्बन्धी मुद्दामा कारागारमा रहेका व्यक्ति हुन्।
चिर्पट प्रहारबाट घाइते भएका गणेश विष्टको हाल महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। अस्पताल स्रोतले जनाए अनुसार उनको स्वास्थ्य अवस्था सामान्य र खतरामुक्त रहेको छ।
प्रहरीले कारागारभित्र भएको झडपको कारणबारे थप अनुसन्धान सुरु गरेको छ।
