अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिँदै ४८ घण्टाभित्र हर्मुज जलमार्ग पूर्ण रूपमा विना अवरोध सञ्चालनमा नल्याए इरानका विद्युत केन्द्रहरू ध्वस्त पार्ने धम्की दिएका छन्।
आइतबार सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा पोस्ट गर्दै ट्रम्पले हर्मुज जलमार्ग तत्काल खोल्न आग्रह गरेका हुन्। उनले चेतावनी दिँदै भनेका छन् कि निर्धारित समयसीमाभित्र जलमार्ग नखुले संयुक्त राज्य अमेरिकाले इरानका प्रमुख विद्युत केन्द्रहरूमा आक्रमण गर्नेछ, जसको सुरुवात सबैभन्दा ठूलो केन्द्रबाट गरिनेछ।
यसैबीच, अमेरिकी सेन्ट्रल कमाण्डले पनि इरानको सैन्य क्षमतालाई कमजोर बनाउनु आफ्नो प्रमुख उद्देश्य रहेको स्पष्ट पारेको छ। विशेषगरी अमेरिकी नागरिक र छिमेकी राष्ट्रहरूविरुद्ध हुन सक्ने खतरालाई निष्प्रभावी पार्न आवश्यक कदम चालिने जनाएको छ।
उता इरानले पनि अमेरिका र इजरायलप्रति कडा प्रतिक्रिया दिएको छ। इरानी रिभोलुसनरी गार्ड्सको एयरोस्पेस फोर्सका प्रमुख मेजर जनरल सैयद माजिद मुसावीले इजरायली आकाशमाथि क्षेप्यास्त्र प्रभुत्व कायम भएको दाबी गर्दै आगामी आक्रमणहरू अझ प्रभावकारी हुने चेतावनी दिएका छन्।
उनले इजरायलको दक्षिणी आकाश लामो समयसम्म उज्यालो हुने गरी नयाँ प्रविधिका क्षेप्यास्त्र प्रयोग गर्न सकिने संकेत गरेका छन्। साथै, इरानी संसदका सभामुख एम.बी. कालीबाफले डिमोना जस्तो उच्च सुरक्षा क्षेत्रमा समेत क्षेप्यास्त्र रोक्न नसक्नुले इजरायलको हवाई सुरक्षा कमजोर रहेको दाबी गरेका छन्। उनले युद्ध नयाँ चरणमा प्रवेश गरेको बताएका छन्।
अर्कोतर्फ, इजरायली वायुसेनाले दक्षिणी शहर अरादमा ब्यालिस्टिक क्षेप्यास्त्र खसेको घटनाबारे अनुसन्धान सुरु गरेको छ। इजरायली सञ्चारमाध्यमका अनुसार उक्त क्षेप्यास्त्र रोक्न गरिएका दुई प्रयास असफल भएका थिए।
