झापाको कनकाई नगरपालिका–२ स्थित हेप्पील्याण्ड फनपार्कमा दुई समूहबीच झडप हुँदा पाँच जना घाइते भएका छन्।
शनिबार दिउँसो करिब ४ बजे फनपार्कभित्र डिजे बजाएर नाच्ने क्रममा दुई समूहबीच विवाद हुँदा झडप भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
झडपमा परी झापा गाउँपालिका–५ का १८ वर्षीय मानारुल आलम, १८ वर्षीय अन्सारुल अलि, २० वर्षीय फिरोज अलि, २० वर्षीय तामेजल खान र २४ वर्षीय समान शेख घाइते भएका छन्। उनीहरूको टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेको छ। घाइतेहरूको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ।
घटनापछि इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले बाह्रदशी गाउँपालिका–४ का १९ वर्षीय साहिद खान, १९ वर्षीय सन्जाद आलम, २२ वर्षीय आसिक आलम, १७ वर्षीय सोहेल आलम, १८ वर्षीय सानाबाज आलम र १८ वर्षीय साहिल आलमलाई नियन्त्रणमा लिएको छ।
प्रहरी घटनास्थल पुगेपछि अवस्था सामान्य बनेको थियो। झडपमा संलग्न दुवै समूह ईद पर्वको अवसरमा घुमघामका लागि फनपार्क पुगेका थिए।
