सुडानको दार्फर क्षेत्रमा रहेको एक अस्पतालमा भएको साङ्घातिक आक्रमणमा कम्तीमा ६४ जनाको ज्यान गएको छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससका अनुसार मृत्यु हुनेमध्ये १३ जना बालबालिका रहेका छन्।
पूर्वी दार्फर राज्यको राजधानी अल देइनस्थित अल देइन टिचिङ अस्पतालमा शुक्रबार राति उक्त आक्रमण भएको हो। आक्रमणमा दुई महिला नर्स र एक पुरुष डाक्टरसहित कैयौँ बिरामीको ज्यान गएको जनाइएको छ।
महानिर्देशक टेड्रोसले सामाजिक सञ्जालमार्फत दिएको जानकारी अनुसार आक्रमणमा परी ८९ जना घाइते भएका छन्, जसमा आठ जना स्वास्थ्यकर्मी समेत छन्। आक्रमणका कारण अस्पतालको बालरोग, प्रसूति तथा आकस्मिक सेवा विभागमा गम्भीर क्षति पुगेको छ।
यस घटनापछि अस्पताल पूर्ण रूपमा बन्द भएको छ भने सहरमा अत्यावश्यक स्वास्थ्य सेवा ठप्प बनेको छ।
सुडानमा सेना र अर्धसैनिक बल ‘र्यापिड सपोर्ट फोर्सेस (आरएसएफ)’बीच विगत तीन वर्षदेखि जारी गृहयुद्धका क्रममा स्वास्थ्य संस्थामाथि हुने आक्रमण बढ्दै गएका छन्। डब्लूएचओका अनुसार हालसम्म स्वास्थ्य क्षेत्रमा २१३ वटा आक्रमण पुष्टि भइसकेका छन्, जसमा २ हजार ३६ जनाको मृत्यु भइसकेको छ।
शुक्रबारको आक्रमण कसले गराएको हो भन्नेबारे अहिलेसम्म कुनै आधिकारिक जानकारी सार्वजनिक भएको छैन।
सन् २०२३ को अप्रिलदेखि सुरु भएको यस द्वन्द्वले विश्वकै सबैभन्दा तीव्र रूपमा बढिरहेको मानवीय संकट सिर्जना गरेको छ। हालसम्म हजारौँ मानिस मारिएका छन् भने करिब १ करोड २० लाख मानिस विस्थापित भएका छन्।
दुवै पक्षमाथि युद्ध अपराध तथा मानवताविरुद्धका अपराधका आरोप लागिरहेका छन्। विशेषगरी दार्फर क्षेत्रमा आरएसएफद्वारा गरिएको हिंसालाई संयुक्त राष्ट्र संघका विज्ञहरूले ‘नरसंहार’को संज्ञा दिएका छन्।
