अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानमाथि जारी सैन्य कारबाही क्रमशः घटाउने संकेत दिएका छन्।
इरानसँगको युद्ध तीन साता नजिकिँदै गर्दा ट्रम्पले आक्रमणका मुख्य उद्देश्यहरू लगभग पूरा भइसकेको दाबी गर्दै सैन्य कारबाही कम गर्ने विषयमा विचार भइरहेको बताएका हुन्। उनले आफ्नो ट्रुथ सोसियलमार्फत सार्वजनिक सन्देशमा अमेरिकाले इरानविरुद्ध हासिल गर्न खोजेका लक्ष्यहरू सफलताको नजिक पुगेको उल्लेख गरेका छन्।
ट्रम्पका अनुसार इरानको मिसाइल क्षमता, प्रक्षेपण प्रणाली तथा त्यससँग सम्बन्धित पूर्वाधारलाई निष्क्रिय पार्ने उद्देश्य लगभग पूरा भइसकेको छ। साथै, इरानी प्रतिरक्षा प्रणाली कमजोर बनाउने, नौसेना र वायुसेनालाई क्षति पुर्याउने तथा एन्टी–एयरक्राफ्ट हतियार प्रणाली नष्ट गर्ने लक्ष्य पनि हासिल भएको उनले दाबी गरेका छन्।
उनले इरानलाई कुनै पनि हालतमा आणविक हतियार विकास गर्न नदिने अमेरिकी नीतिअनुसार उक्त उद्देश्य पनि लगभग पूरा भएको बताएका छन्। साथै, इसराइल, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स, बहराइन र कुवेत जस्ता साझेदार राष्ट्रहरूको सुरक्षा सुनिश्चित गर्नु पनि अमेरिकी कारबाहीको प्रमुख लक्ष्य रहेको उनको भनाइ छ।
ट्रम्पले स्ट्रेट अफ हर्मुज जस्तो महत्वपूर्ण समुद्री मार्गको सुरक्षाबारे पनि धारणा राख्दै त्यसको जिम्मेवारी उक्त मार्ग प्रयोग गर्ने अन्य देशहरूले लिनुपर्ने बताएका छन्। आवश्यक परेमा अमेरिकाले सहयोग गर्ने तर इरानबाट हुने खतरा पूर्ण रूपमा अन्त्य भएपछि त्यस्तो आवश्यकता नपर्ने उनको तर्क छ।
समग्रमा, ट्रम्पको पछिल्लो अभिव्यक्तिले इरान–अमेरिका तनाव केही कम हुन सक्ने संकेत देखिए पनि क्षेत्रीय सुरक्षा अवस्था अझै संवेदनशील रहेको देखिन्छ।
