काठमाडौँमा ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित चलिरहेको बागमती सफाइ महाअभियानका क्रममा सिनामङ्गलस्थित बागमती पुल क्षेत्रमा सफाइ गरी तीन मेट्रिक टन नकुहिने फोहोर व्यवस्थापन गरिएको छ। उठाइएको फोहोर काठमाडौँ महानगरपालिकाले व्यवस्थित गरेको छ।
सफाइमा पूर्वमुख्यसचिव तथा चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, काठमाडौँ महानगरपालिका–९ का वडा सदस्य नवराज अधिकारी, अधिकार सम्पन्न बागमती समितिका कर्मचारी तथा बागमती सफाइ अभियानकर्मीहरूको सहभागिता रहेको थियो। अभियाकर्मी किशोरसिंह शाहीका अनुसार आजको अभियान बागमती सफाइ महाअभियानको ६७१औँ शृङ्खला हो।
विसं २०७० जेठ ५ गतेबाट सुरु भएको महाअभियान अन्तर्गत प्रत्येक शनिबार बिहान करिब दुई घण्टा बागमती नदीमा सफाइ हुने गर्दछ। बागमती सफाइ महाअभियानको प्रभावसँगै काठमाडौँका सहायक नदी, चक्रपथका विभिन्न खण्ड तथा राजधानी बाहिरका नदी क्षेत्रमा समेत सफाइ अभियान सञ्चालन भएको छ।
सफाइको क्रममा उठाइएका कुहिने फोहोरबाट कम्पोष्ट मल तयार पार्ने र नकुहिने फोहोर सम्बन्धित स्थानीय तहले व्यवस्थित गर्ने कार्य समेत भइरहेको छ, जसले वातावरणीय व्यवस्थापनमा सहयोग पुर्याएको बताइएको छ।
