मध्यपूर्वको युद्ध जारी रहँदा विश्वकै अत्याधुनिक मानिने अमेरिकी पाँचौँ पुस्ताका ‘स्टेल्थ लडाक’ विमान ‘एफ–३५’ इरानको निशानामा परेको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)ले सञ्चालन गरेको आक्रमणपछि ती विमानहरूलाई आपत्कालीन रूपमा क्षेत्रीय सैन्य अखडामा अवतरण गराउनुपरेको अमेरिकी स्रोतहरूले जनाएका छन्।
अमेरिकी सञ्चारमाध्यम सीएनएनका अनुसार आक्रमणअघि एफ–३५ विमानहरू इरानको आकाशमा सक्रिय युद्ध अभियानमा संलग्न थिए। सबै विमान सुरक्षित रूपमा अवतरण गराइए पनि घटनालाई गम्भीर रूपमा हेरिएको अमेरिकी सैन्य अधिकारीहरूको भनाइ छ।
गत फेब्रुअरीदेखि जारी द्वन्द्वमा एफ–३५माथि भएको यो पहिलो प्रत्यक्ष आक्रमण मानिएको छ। प्रति जहाज १० करोड अमेरिकी डलरभन्दा बढी मूल्य पर्ने यी विमानहरू अमेरिका र इजरायल दुवैले प्रयोग गर्दै आएका छन्। लामो समयदेखि ‘अजेय’ मानिँदै आएका यी स्टेल्थ विमानमाथि आक्रमण हुनु रणनीतिक रूपमा महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ।
अल जजिराका अनुसार सन् २०१८ देखि युद्धमा प्रयोग हुँदै आएको एफ–३५ यसअघि आक्रमणबाट प्रभावित भएको पुष्टि भएको घटना सार्वजनिक भएको थिएन। यसले पछिल्ला घटनाले पश्चिमी हवाई प्रभुत्वमाथि प्रश्न उठाएको संकेत गरेको विश्लेषण गरिएको छ।
यसअघि अमेरिकाले केही लडाकु विमान गुमाए पनि ती शत्रुपक्षको प्रत्यक्ष आक्रमणबाट नष्ट भएका थिएनन्। केही समयअघि कुवेती हवाई सुरक्षाद्वारा गल्तीवश गरिएको आक्रमणमा एफ–१५ विमान खसालिएको थियो, जसका सबै चालक दल सदस्य सकुशल उद्धार गरिएका थिए।
यस्तै, पश्चिमी इराकमा ‘केसी–१३५ स्ट्राटोट्यांकर’ इन्धन भर्ने विमान दुर्घटनाग्रस्त भएको थियो। अमेरिकी सेनाका अनुसार उक्त दुर्घटनामा कुनै शत्रु वा मित्र राष्ट्रको संलग्नता नरहेको बताइएको छ। तर, दुर्घटनामा सवार सबै ६ जना चालक दल सदस्यको मृत्यु भएको थियो।
एफ–३५ जस्तो अत्याधुनिक स्टेल्थ विमानमाथि भएको आक्रमणले युद्धको स्वरूप बदलिँदै गएको संकेत दिएको छ। विश्लेषकहरूका अनुसार यो घटना केवल सैन्य क्षति मात्र नभई पश्चिमी हवाई प्रभुत्वलाई चुनौती दिने सम्भावित मोडका रूपमा देखिएको छ।
अहिलेसम्मको युद्धमा कम्तीमा १३ अमेरिकी सैनिकको मृत्यु भएको छ भने करिब २०० जना घाइते भएका छन्। इरानतर्फ १ हजार ४४४ जनाको मृत्यु र १८ हजार ५५१ जना घाइते भएको त्यहाँका स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन्।
