इरानले आफ्ना शत्रुहरूलाई लक्षित गर्दै विश्वभरका पर्यटकीय तथा मनोरञ्जन स्थलहरूमा प्रतिशोधात्मक आक्रमण विस्तार गर्ने चेतावनी दिएको छ । अलजजिरा का अनुसार, इरानी सेनाका मुख्य प्रवक्ता जनरल अबोलफजल शेकार्चीले पार्क, मनोरञ्जन क्षेत्र र पर्यटकीय गन्तव्यहरू अब शत्रुहरूका लागि सुरक्षित नरहने बताएका हुन् ।
यस चेतावनीसँगै इरानले मध्यपूर्वभन्दा बाहिर पनि ‘असिमेट्रिक’ (छापामार शैलीका) आक्रमणमार्फत दबाब बढाउन सक्ने संकेत दिएको छ, जसले विश्व सुरक्षा चिन्तालाई थप गम्भीर बनाएको छ ।
यसैबीच, इजरायलले हालै इरानको ‘साउथ पार्स’ अफशोर ग्यास क्षेत्रमा आक्रमण गरेपछि तनाव झनै चर्किएको छ । त्यसको प्रतिक्रियास्वरूप इरानले खाडी क्षेत्रका ऊर्जा केन्द्रहरूलाई लक्षित गर्दै आक्रमण तीव्र पारेको जनाइएको छ ।
अलजजिरा का अनुसार, शुक्रबार बिहान कुवेत को मिना अल–अहमदी तेल प्रशोधन केन्द्रमा इरानले दुई चरणमा ड्रोन आक्रमण गरेको छ । दैनिक करिब ७ लाख ३० हजार ब्यारेल तेल प्रशोधन गर्ने क्षमता भएको उक्त केन्द्रमा आगलागी भएको बताइएको छ, जसले क्षेत्रीय ऊर्जा आपूर्तिमा असर पर्ने चिन्ता बढाएको छ ।
