रुकुम पूर्वमा भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। गएरातिदेखि निरन्तर भइरहेको हिमपातले भुमे गाउँपालिका–१ अन्तर्गत पर्ने लुकुम–पातिहाल्ना खण्ड बन्द भएको हो।
लोकमार्ग अवरुद्ध भएपछि दर्जनौँ सवारीसाधन र यात्रुहरू अलपत्र परेका छन्। जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायव उपरीक्षक केशवराज ज्ञवालीका अनुसार काठमाडौँबाट छुटेका रात्रि बसहरू उक्त खण्डमा फसेका छन्। हाल लुकुम–पातिहाल्ना क्षेत्रमा ७ वटा बस, १ वटा जिप र ५ वटा मोटरसाइकल फसेका छन् भने २५० जनाभन्दा बढी यात्रुहरू अलपत्र परेका छन्।
सडक सञ्चालनमा समस्या हुनुको साथै फोन सेवा पनि अवरुद्ध हुँदा उद्धार कार्यमा थप चुनौती देखा परेको छ। तर, स्थानीय तहसँग समन्वय गर्दै यात्रुहरूको सुरक्षित उद्धारका लागि कार्य अघि बढाइरहेको प्रहरीले जनाएको छ।
