हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको प्रभाव रहेको छ। यसअन्तर्गत मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बाँकी पहाडी र हिमाली भू–भागमा अधिकांश बादल लागेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका थोरै क्षेत्रहरूमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षा वा हिमपात भइरहेको छ।
आज दिउँसो पनि देशभर अधिकांश भागमा बादल लाग्ने सम्भावना छ। विशेषगरी कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरू तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित मध्यम वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। राति अधिकांश ठाउँमा सामान्यतया बादल रहने अनुमान गरिएको छ।
साथै, कोशी प्रदेशको हिमाली भू–भागका थोरै स्थानहरूमा र बाँकी पहाडी भू–भागका एक–दुई स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको छ।
