काठमाडौँ महानगरपालिका–१२ भोटेबहालमा बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा टेकु बस्दै आएका भारतीय नागरिक ४५ वर्षीय पदम उपाध्याय र ३७ वर्षीय सतिसकुमार कुसवाह रहेका छन्।
शुक्रबार साँझ कालिमाटीबाट त्रिपुरेश्वरतर्फ जाँदै गरेको प्रदेश–३–०१–००५ ख ९२९८ नम्बरको बसले ठक्कर दिँदा उनीहरू गम्भीर घाइते भएका थिए। घाइते दुवै जनाको उपचारका क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले जानकारी दिएका छन्।
घटनामा संलग्न बस चालक दोलखा घर भई कपन बस्ने ३५ वर्षीय मानबहादुर बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे प्रहरी वृत्त कालिमाटीले थप अनुसन्धान गरिरहेको छ।
