पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइराला को १६औँ स्मृति दिवस आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ।
चार पटक प्रधानमन्त्री बनेका कोइरालाको विसं २०६६ चैत ७ गते निमोनियाका कारण निधन भएको थियो। नेपालको शान्ति प्रक्रिया, लोकतान्त्रिक आन्दोलन र गणतन्त्र स्थापनामा उनले खेलेको भूमिका ऐतिहासिक रूपमा महत्वपूर्ण मानिन्छ।
तत्कालीन माओवादी ‘जनयुद्ध’ अन्त्य गरी शान्ति स्थापना गर्न उनले निर्णायक भूमिका निर्वाह गरेका थिए। विशेषगरी विसं २०५९ असोज १८ मा तत्कालीन राजा ज्ञानेन्द्र शाह ले जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवा लाई अपदस्थ गरेपछि सुरु भएको राजनीतिक सङ्कटमा कोइरालाले आन्दोलनको नेतृत्व गरेका थिए।
विसं २०६१ माघ १९ मा राजा ज्ञानेन्द्रले दलमाथि प्रतिबन्ध लगाउँदै प्रत्यक्ष शासन थालेपछि कोइरालाले सबै दललाई एकीकृत गर्दै पूर्ण लोकतन्त्रको पक्षमा आन्दोलन अगाडि बढाए। सोही आन्दोलनको परिणामस्वरूप विसं २०६३ वैशाख ११ मा विघटित प्रतिनिधिसभा पुनःस्थापना भयो, जसलाई नेपाली ‘म्याग्नाकार्टा’ पनि भनिन्छ।
आन्दोलन सफल भएपछि कोइराला चौथोपटक प्रधानमन्त्री बने। पुनःस्थापित संसदले विसं २०६३ जेठ ४ मा राजाका अधिकार कटौती गर्दै उनलाई आलंकारिक भूमिकामा सीमित गर्यो।
उनकै नेतृत्वमा माओवादी जनसेनाको समायोजन तथा हतियार व्यवस्थापन सम्पन्न भयो। साथै, उनका दाजु तथा नेपाली कांग्रेसका संस्थापक बीपी कोइराला को संविधानसभा निर्वाचन गर्ने सपना विसं २०६४ चैत २८ मा पूरा भयो।
पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि नेपालको राजनीतिक इतिहासमा यो एक महत्वपूर्ण मोडका रूपमा दर्ज भएको छ।
कोइरालाले आफ्नो अन्तिम कार्यकालमा कार्यवाहक राष्ट्राध्यक्षको जिम्मेवारी समेत सम्हालेका थिए। राजा ज्ञानेन्द्र निलम्बनमा परेपछि उनले उक्त भूमिका निर्वाह गरेका हुन्। उनकै नेतृत्वमा विसं २०६५ जेठ १५ मा २४० वर्ष पुरानो शाह वंशीय राजसंस्थाको अन्त्य भई नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरण भएको थियो।
बोलेको कुरा पूरा गर्ने दृढ अडान भएका राजनेताका रूपमा परिचित कोइरालाको योगदानको स्मरण गर्दै आज नेपाली कांग्रेस तथा यसका भ्रातृ र शुभेच्छुक संस्थाहरूले विभिन्न कार्यक्रम आयोजना गरी स्मृति दिवस मनाइरहेका छन्।
