काठमाडौँ । इरानी सुरक्षा निकायले एक जना नेपाली नागरिकलाई नियन्त्रणमा लिएको खुलासा भएको छ। परराष्ट्र मन्त्रालयका पश्चिम एसिया महाशाखा प्रमुख रामकाजी खड्काले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन्।
उनका अनुसार स्ट्रेट अफ होर्मुज क्षेत्रबाट एक नेपालीलाई सुरक्षा निकायले नियन्त्रणमा लिएको हो। यस विषयमा थप विवरण संकलन गर्ने र कूटनीतिक माध्यमबाट आवश्यक पहल अघि बढाउने मन्त्रालयले जनाएको छ।
यसअघि परराष्ट्र मन्त्रालयले इरानमा ६ जना नेपाली नागरिक रहेको जानकारी दिएको थियो। तर पछिल्लो अद्यावधिक अनुसार इरानमा रहेका नेपालीको संख्या ११ पुगेको खड्काले बताएका छन्।
सरकारले त्यहाँ रहेका नेपाली नागरिकको अवस्थाबारे निरन्तर निगरानी राखिरहेको र आवश्यक परे उद्धार तथा सहजीकरणका लागि पहल गर्ने तयारी गरिएको जनाएको छ।
