मध्यपूर्वमा जारी युद्ध थप चर्किँदै जाँदा यसको प्रभाव खाडी क्षेत्रदेखि युरोपसम्म फैलिएको छ। क्षेप्यास्त्र र ड्रोन आक्रमण, प्रतिआक्रमण, ऊर्जा पूर्वाधारमा क्षति तथा तीव्र कूटनीतिक गतिविधिले क्षेत्रीय मात्र नभई विश्वव्यापी स्थायित्वमा समेत चिन्ता बढाएको छ। विशेषगरी ऊर्जा क्षेत्रमा युद्धको प्रत्यक्ष असर देखिन थालेको छ।
कतारका ऊर्जामन्त्री साद सेरिदा अल–काबीका अनुसार ऊर्जा संरचनामा भएको आक्रमणका कारण तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) निर्यात क्षमता करिब १७ प्रतिशतले घट्नेछ भने पूर्ण मर्मतमा तीनदेखि पाँच वर्ष लाग्न सक्ने अनुमान गरिएको छ। साथै क्षेत्रीय तनावका कारण अन्तर्राष्ट्रिय समुद्री मार्ग, विशेषतः स्ट्रेट अफ होर्मुज, थप जोखिमपूर्ण बन्दै गएको छ।
यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्ध अपेक्षाभन्दा छिटो अन्त्यतर्फ उन्मुख रहेको दाबी गरेका छन्। उनले इरानले स्ट्रेट अफ होर्मुज बन्द गरेर विश्वलाई दबाबमा पार्ने प्रयास गरिरहेको आरोप लगाउँदै त्यस्तो प्रयास असफल हुने बताएका छन्। साथै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आग्रहपछि इजरायल इरानको ग्यास खानीमा आक्रमण नगर्ने विषयमा सहमत भएको पनि जनाइएको छ।
फ्रान्सका राष्ट्रपति इमानूएल म्याक्रोनले होर्मुज क्षेत्रको सुरक्षा सुनिश्चित गर्न संयुक्त राष्ट्रसंघअन्तर्गत नयाँ संरचना स्थापना गर्ने विषयमा सुरक्षा परिषद्का स्थायी सदस्यहरूसँग छलफल अघि बढाउने बताएका छन्।
उता युरोपेली संघ (ईयू) ले सम्भावित आप्रवासन संकटलाई ध्यानमा राख्दै कूटनीतिक, कानुनी, परिचालन तथा आर्थिक सबै संयन्त्र परिचालन गर्ने तयारी गरेको छ। सन् २०१५ जस्तै अवस्था दोहोरिन सक्ने चिन्ताबीच आप्रवासीको अनियन्त्रित आवागमन रोक्न कडा कदम चाल्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
