पोखरा । पोखरामा ठूलो परिमाणमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। पोखरा–२९ सैनिक बस्तीबाट १९ वर्षीय आयुष तामाङलाई प्रहरीले झण्डै २५ सय एम्पुल लागुऔषधसहित नियन्त्रणमा लिएको हो।
कास्की प्रहरीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार तामाङको कोठा खानतलासी गर्दा डाईजापाम १ हजार ७ सय २१ एम्पुल, फेनेरागन ३ सय ३४ एम्पुल र बुप्रिनर्फिन ३ सय ७७ एम्पुल गरी कुल २ हजार ४ सय ३२ एम्पुल लागुऔषध बरामद गरिएको छ। साथै उनको साथबाट ९३ हजार ५ सय रुपैयाँ नगद र दुई थान मोबाइल समेत बरामद भएको छ। उनलाई ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच, पोखरा–१० रामघाटबाट खैरो हिरोइनसहित अर्का एक जनालाई पनि पक्राउ गरिएको छ। तनहुँ घर भई हाल सोही स्थानमा बस्दै आएका २० वर्षीय शिव गिरीलाई ८ ग्राम १५ मिलिग्राम खैरो हिरोइनसहित नियन्त्रणमा लिइएको हो। उनको साथबाट एक थान मोबाइल समेत बरामद गरिएको छ। गिरीलाई कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।
कास्की प्रहरीका अनुसार चालु आर्थिक वर्षमा मात्रै लागुऔषध सम्बन्धी ८० वटा मुद्दा दर्ता भएका छन् भने १ सय २० जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा १ सय ११ पुरुष र ९ महिला रहेका छन्।
