काठमाडौँ । राष्ट्रिय किताबखानाले एकीकृत डिजिटल निवृत्तभरण (पेन्सन) सेवा औपचारिक रूपमा सुरु गरेको छ। शुक्रबार आयोजित कार्यक्रममा उक्त सेवाको शुभारम्भ गर्दै अब निवृत्तभरणसम्बन्धी सबै प्रक्रिया डिजिटल प्रणालीमार्फत सञ्चालन हुने जानकारी दिइएको हो।
राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेलका अनुसार अबदेखि राजीनामा वा अनिवार्य अवकाशमा जाने कर्मचारीहरूले निवृत्तभरण, उपदान लगायतका सेवा लिनका लागि किताबखाना धाउनुपर्ने अवस्था अन्त्य हुनेछ। उनले किताबखानाले आफ्नो मुख्य सेवालाई डिजिटल रूपान्तरणमार्फत विद्युतीय तहमा स्तरोन्नति गरेको उल्लेख गर्दै सेवाग्राहीको भौतिक उपस्थितिविना नै सेवा उपलब्ध गराइने बताए।
प्रारम्भिक चरणमा ७७ वटै जिल्लामा सेवा सहज बनाउन कोष तथा लेखा नियन्त्रक कार्यालयहरूले सहजीकरण गर्नेछन्। यसका लागि किताबखानाले सञ्चालन गरिरहेको डिजिटल प्रणालीमा ती कार्यालयहरूलाई पहुँच प्रदान गरिएको छ। सेवाको गुणस्तर र दिगोपना सुनिश्चित भएपछि अवकाशसम्बन्धी सबै सरकारी कार्यालयहरूमा प्रणाली विस्तार गरिने योजना रहेको छ।
नयाँ प्रणालीअनुसार कर्मचारीहरूले आफ्नै जिल्लाबाट अनलाइन आवेदन दिन सक्नेछन्। आवेदनसँग सम्बन्धित विवरणहरू स्वतः राष्ट्रिय किताबखानाको प्रणालीमा देखिनेछन् र अनलाइनमार्फत प्रमाणीकरण गरी सेवा स्वीकृत गरिनेछ। स्वीकृत सेवा सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालय तथा निवृत्तभरण व्यवस्थापन कार्यालयमा अनलाइनमार्फत पठाइने भएकाले सेवाग्राहीले जिल्लाबाटै सेवा पाउने व्यवस्था सुनिश्चित हुने बताइएको छ।
यस प्रणालीमा निवृत्तभरण अधिकारपत्र, उपदान रकम निर्धारण किटानीपत्र, सञ्चित घर बिदा तथा बिरामी बिदाको सुविधा, औषधि उपचार सुविधा लगायतका सेवा समावेश गरिएका छन्। साथै, निवृत्त कर्मचारीले रोजेको बैंकमा सोझै खाता खोल्ने सुविधा पनि राखिएको छ।
किताबखानाले निकट भविष्यमा नागरिक एपमार्फत निवृत्तभरण अधिकारपत्र तथा परिचयपत्र हेर्न र प्रिन्ट गर्न सकिने सुविधा समेत विस्तार गर्ने जनाएको छ।
यस डिजिटल सेवाले प्रशासनिक झन्झट कम गर्नुका साथै सेवा प्रवाहलाई छिटो, पारदर्शी र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
