काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले गत भदौ २४ गते जेनजी आन्दोलनमा भएको आगलागी र तोडफोडमा नष्ट भएका विभिन्न मुद्दाका दसी (प्रमाण) र जिन्सी सामानहरूको विवरण सार्वजनिक गरेको छ । शुक्रबार अदालतको जिन्सी फाँटले एक सूचना जारी गर्दै आगलागीबाट पूर्ण रूपमा क्षति भएका सामग्रीहरूको सूची सार्वजनिक गरेको हो।
अदालतका अनुसार भदौ २४ गते मुख्य भवनको अण्डरग्राउन्ड (भुइँतला) मा रहेको अभिलेख र जिन्सी शाखामा भएको आगजनीका कारण विभिन्न मुद्दाका मिसिल र दसीका रूपमा दाखिला भएका सामानहरू पूर्ण रूपमा नष्ट भएका थिए।
उक्त घटनापछि क्षतिको मूल्याङ्कन गर्न न्यायाधीश तेज बहादुर खड्काको संयोजकत्वमा गठित समिति र सङ्कट व्यवस्थापन सम्बन्धी अध्ययनका लागि न्यायाधीश टेकप्रसाद ढुंगानाको संयोजकत्वमा गठित समितिले दिएको प्रतिवेदनका आधारमा सूचना प्रकाशन गरेको हो।
सर्वोच्च अदालतको सङ्कट व्यवस्थापन निर्देशिका बमोजिम कुन–कुन सामान नष्ट भए र कुन सुरक्षित छन् भन्ने अभिलेख राख्ने क्रममा यो विवरण सार्वजनिक गरिएको अदालतले जनाएको छ।
अदालतले सार्वजनिक गरेको ११ वटा बुँदाको सूचीमा गम्भीर प्रकृतिका मुद्दाका प्रमाणहरू जलेर नष्ट भएको उल्लेख छ । नष्ट भएका सामानहरूमा नक्कली १ हजार र ५ सय दरका नोट, विभिन्न व्यक्तिहरूका सक्कल राहदानी (पासपोर्ट), नागरिकता प्रमाणपत्र र सवारी चालक अनुमति पत्र छन्।
त्यस्तै चेकबुक र अन्य वित्तीय कागजातहरू, भिसा कार्ड तथा हवाई टिकटहरू रहेका छन् । यी सामानहरू खोटा चलन, लागुऔषध, ठगी, र राहदानी दुरुपयोग जस्ता मुद्दाहरूसँग सम्बन्धित थिए।
