चीनले घरेलु बजार सुरक्षित राख्ने उद्देश्यले रासायनिक मल (फर्टिलाइजर) निर्यातमा नयाँ प्रतिबन्ध लगाएको छ। अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार, इरान–मध्यपूर्व युद्धका कारण विश्व बजारमा मूल्य र आपूर्तिमा दबाब बढिरहेको बेला चीनको यो कदम आएको हो।
गत मार्चमा बेइजिङले नाइट्रोजन–पोटासियम मिश्रित मल र केही फस्फेटयुक्त मलको निर्यातमा रोक लगाइसकेको थियो। यससँगै युरियामा पहिले नै लगाइएको कोटा र प्रतिबन्धका कारण अहिले चीनबाट सीमित मात्रामा मात्र मल निर्यात भइरहेको छ। हाल विशेषगरी अमोनियम सल्फेट जस्ता मल निर्यात भइरहेका छन्।
विशेषज्ञहरूले अनुमान लगाएका छन् कि गत वर्षको तुलनामा चीनको करिब आधादेखि तीन-चौथाइ मल निर्यात प्रभावित हुन सक्छ, जुन करिब ४० मिलियन मेट्रिक टनसम्म पुग्न सक्छ। चीन विश्वकै सबैभन्दा ठूलो मल निर्यातकर्ता मध्ये एक हो र गत वर्ष उसले १३ अर्ब डलरभन्दा बढी मूल्यको मल निर्यात गरेको थियो।
