नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सेवामा प्रवेश गरेको अभियोगमा शिवनारायण मण्डल दोषी ठहर भएका छन्। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरू हेमन्त रावल तथा विदुर कोइरालाको इजलासले मण्डललाई भ्रष्टाचारी ठहर गर्दै ५ हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको छ।
मण्डलले भारतको बिहार विद्यालय परीक्षा समिति, पटनाबाट सन् १९८३ मा माध्यमिक तह (एसएलसी सरह) उत्तीर्ण भएको भनी रोल नं. ६२–७–३६० रहेको प्रमाणपत्र पेश गरेका थिए। सोही आधारमा उनले २०५३ साउन १ गतेदेखि द्वितीय श्रेणीको ‘सब–ओभरसियर’ पदमा स्थायी नियुक्ति लिएका थिए।
तर राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले प्रमाणपत्रको आधिकारिकता जाँच गर्दा, उक्त रोल नम्बर अर्कै व्यक्तिको नाममा रहेको र मण्डलको नाम अभिलेखमा नभएको जानकारी आएको थियो। अदालतमा बयान दिँदा मण्डलले प्रतिवेदन खण्डन गर्न नसकेपछि उनलाई दोषी ठहर गरिएको हो।
