बाजुरा । जिल्लाको हिमाली गाउँपालिकामा पाठेघर खस्ने समस्या र पाठेघरको मुखको क्यान्सर विरुद्ध पाँचदिने स्वास्थ्य घुम्ती शिविर सञ्चालन गरिएको छ। यही चैत १ गतेदेखि बिहीबारसम्म चलेको शिविरमा गाउँपालिकाका सातवटै वडाका एक हजारभन्दा बढी नागरिकको स्वास्थ्य परीक्षण र उपचार गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राजबहादुर भण्डारीले जानकारी दिए।
शिविर गाउँपालिकाका विभिन्न वडामा आयोजना गरिएको थियो — वडा नं ४, ६ र ७ को धुलाचौर, वडा नं ५ को कुवाडी र वडा नं १, २, ३ को विच्छ्याँ। यहाँ विशेषज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मीहरूले प्रजनन स्वास्थ्यसम्बन्धी पाठेघर खस्ने समस्या, सेतोपानी, क्यान्सर, रक्तअल्पता जस्ता स्वास्थ्य समस्याको उपचार गरेका छन्।
उपचार क्रममा पाँच सयभन्दा बढीमा पाठेघरसम्बन्धी समस्या देखिएको थियो भने १४८ जनामा दम, मुटुरोग, मिर्गौला परीक्षण र मधुमहजस्ता नसर्ने रोगको ‘स्क्रिनिङ’ गरिएको थियो। यसैगरी, ६२ जनामा भिआई ए र पाठेघरको क्यान्सर जाँच, १४ जनालाई प्रयोगशाला क्षयरोग परीक्षणलगायत सेवा प्रदान गरिएको छ।
घुम्ती शिविरमा संलग्न चिकित्सक डा. रञ्जित शाहका अनुसार ५० प्रतिशतभन्दा बढी महिलामा पाठेघर खस्ने समस्या देखिएको छ। महिनाबारी, सुत्केरी तथा गहुँरंगो भारी बोक्ने, घरायसी कामका कारण पाठेघर खस्ने समस्या उत्पन्न भएको हुनसक्ने बताएका छन्।
स्वास्थ्य शाखा प्रमुख भण्डारीले कामको अत्यधिक बोझ, पोषिलो खानेकुराको कमी र बालविवाहले पनि पाठेघर खस्ने समस्या बढाउने गरेको बताएका छन्। साथै, विच्छ्याँको माथिल्लो उच्च हिमाली क्षेत्रमा नशा रोगसम्बन्धी समस्या बढी देखिएको छ।
हिमाली गाउँपालिकामा स्थापित आधारभूत स्वास्थ्य इकाई सेवा केन्द्रबाट सामान्य उपचार मात्र उपलब्ध छ। ठूलो समस्या देखिएमा उपचारका लागि कोल्टी वा जिल्ला अस्पताल मार्तडी पुग्नुपर्ने बाध्यता रहेको छ। गाउँपालिकाले विगतदेखि नै नागरिक उपचार सहायता कोषमार्फत ग्रामीण भेगमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै समस्या पहिचान र सेवा प्रदान गर्दै आएको गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले जानकारी दिए।
