काठमाडौँ । अनलाइन मार्फत सट्टाबाजी सञ्चालन गरेको आरोपमा कागेश्वरी मनोहरा नगरपालिका बस्ने मोरङ, उर्लाबारी–६ का २६ वर्षीय मोहन लुईंटेललाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार सोसल मिडिया र अनलाइन पेमेन्ट प्लेटफर्ममार्फत अनलाइन जुवा खेलाइरहेको भन्ने सूचना प्राप्त भएपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले मंगलबार उनलाई कागेश्वरी मनोहरा नगरपालिका–८, शिवचोकबाट नियन्त्रणमा लिएको हो।
प्रारम्भिक अनुसन्धानमा मोहनले अनलाइन प्लेटफर्म जस्ता गेम रुम, गेम भल्ट, लास भेगस लगायतका बेटिङ साइटमार्फत डिजिटल वालेट खोलाएर विदेशी भुक्तानी सङ्कलन गरी जुवा खेलाइरहेको खुल्न आएको छ।
उनको साथबाट प्रहरीले ३ थान मनिटर, १ थान सिपियु, १ थान आइप्याड, बागमती प्रदेश ०२–०६० प ०६५६ नम्बरको मोटरसाइकल र नगद ३६ हजार रुपैयाँ बरामद गरेको छ। मोहनलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ।
