कैलाली । खक्रौला भन्सार नजिकै रहेको सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्ममा आक्रमण गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। टीकापुर नगरपालिका–९ का ४० वर्षीय रामबहादुर साउदलाई घटनामा संलग्न भएको आरोपमा नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार साउदले गुल्मका गुल्मपति, सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रदीप पौडेलमाथि आक्रमण गरेका थिए। पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय टीकापुरमा राखेर थप अनुसन्धान भइरहेको छ।
त्यसैगरी, साउदसँगै अन्य पाँच जनाको नाममा पनि जाहेरी दर्ता भएको छ र उनीहरूको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ। मंगलबार टीकापुरका व्यवसायीको सामान सशस्त्र प्रहरी टोलीले बरामद गरेपछि उत्पन्न विवादले गर्दा उक्त गुल्ममा आक्रमण भएको बताइएको छ।
