धनगढी। यातायात व्यवस्था कार्यालय, धनगढीले चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्ममा रु ४८ करोड १९ लाख ५१ हजार राजस्व संकलन गरेको छ। कार्यालयका प्रमुख भुवन जोशीका अनुसार विभिन्न शीर्षकबाट संकलित राजस्वमा सवारीसाधन कर, चालक अनुमतिपत्र, लाइसेन्स नवीकरण, जरिवाना, जाँचपास तथा अन्य दस्तुरहरू समावेश छन्।
उनका अनुसार सबैभन्दा बढी राजस्व सवारीसाधन करबाट संकलित भएको छ, जसको रकम रु ३७ करोड ८३ लाख छ। यसैबीच, सबैभन्दा कम राजस्व व्यावसायिक रजिष्ट्रेसन दस्तुरबाट संकलन भएको छ, जुन रु १२ लाख मात्र रहेको छ। यसरी संकलित रकम यातायात कार्यालयको मुख्य आयको स्रोत बनेको छ।
त्यसैगरी, चालक अनुमतिपत्र, सवारी दर्ता किताब दस्तुर, लाइसेन्स नवीकरण, जरिवाना, जाँचपास र लाइसेन्स प्रमाणीकरणबाट रु ९ करोड ३५ लाख ८२ हजार राजस्व संकलन भएको छ। यसबाहेक, यातायात क्षेत्रको अन्य आम्दानी जस्तै लगतकट्टा, प्रदूषण दस्तुर र रुट ईजाजत दस्तुरबाट रु ८८ लाख २६ हजार राजस्व संकलन भएको तथ्यांकमा उल्लेख छ।
भुवन जोशीका अनुसार, कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा विभिन्न शीर्षकबाट कुल रु ७५ करोड ५६ लाख २७ हजार राजस्व संकलन गरेको थियो। यस वर्षको संकलन अघिल्लो वर्षको तुलनामा केही कम देखिएको भए पनि कार्यालयले सबै प्रक्रिया पारदर्शी र व्यवस्थित रूपमा अघि बढाएको बताइएको छ।
कार्यालयको तथ्यांक अनुसार हालसम्मको राजस्व संकलनसँगै बेरुजु रकम शून्य रहेको छ। यसले कार्यालयको आर्थिक व्यवस्थापनमा सन्तुलन र पारदर्शिता कायम भएको संकेत गरेको छ।
यातायात विभागले राजस्व संकलनको यस प्रकारको विवरण सार्वजनिक गर्नुको उद्देश्य नागरिकमा पारदर्शिता कायम राख्नु र आगामी वर्षका लागि योजना र सुधारका दिशा निर्धारण गर्नु रहेको प्रमुख जोशीले बताए।
