नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) को ११औँ महाधिवेशन काठमाडौंमा जारी छ। शुक्रवार नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाइएको छ। महाधिवेशन “प्राकृतिक स्रोत, जल, जंगल र जमिनमा आदिवासी जनजातिको अधिकार सुनिश्चित गरौं” भन्ने मुख्य नारासँग सुरु भएको हो।
नेपाल प्रज्ञा-प्रतिष्ठान, कमलादीमा भएको उद्घाटन समारोहमा प्रमुख अतिथि इन्द्र बानियाँले महाधिवेशनको औपचारिक उद्घाटन गरेका थिए। महाधिवेशनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने साथै विभिन्न प्रस्तावहरू पारित गर्ने तयारी गरेको नेफिनले जनाएको छ। शुक्रवार स्वयम्भुमा बन्दसत्र हुनेछ र २१ सदस्यीय नयाँ कार्य समिति चयन हुनेछ।
उद्घाटन समारोहमा मुख्यमन्त्री बानियाले देशको समृद्धि र सुशासनका लागि आदिवासी समुदायले अधिकारको मात्र होइन, कर्तव्यको मुद्दा पनि अघि बढाउनुपर्नेमा जोड दिएका थिए। उनले राज्यबाट पछाडि परेका समुदायको भलाइ सुनिश्चित गर्न मानवअधिकार आयोगलाई सशक्त बनाउन आवश्यक रहेको तर अन्य संवैधानिक आयोगको खाँचो नरहेको उल्लेख गरे।
नेफिनका अध्यक्ष गेल्जे लामा शेर्पाले आदिवासी अधिकारको रक्षा र थप अधिकारका लागि एकताबद्ध संघर्ष आवश्यक रहेको बताए। पूर्वमन्त्री सीता गुरुङले राज्यको सबै संयन्त्रमा जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न आग्रह गरिन्।
