सिरहा जिल्ला अदालतअगाडि रहेको बार एशोसिएसनको कार्यालयमा भएको कुकर बम विस्फोटपछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति सुखीपुर नगरपालिका–३ का गुमस्ता यादव हुन्। प्रहरीले शंकाको आधारमा उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी रमेशबहादुर पालका अनुसार घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको छ। ‘हामीले शंकाको आधारमा एक जनालाई पक्राउ गरेका छौं, हाल चार दिनदेखि अनुसन्धान भइरहेको छ,’ उनले बताए। अनुसन्धानको निष्कर्ष आएपछि मात्र थप विवरण सार्वजनिक गरिनेछ।
विस्फोटका कारण कार्यालयमा कार्यरत एक कर्मचारी घाइते भएका छन्। घाइते सिरहा नगरपालिका–१ का सौरभ यादव हुन्, जसको खुट्टामा चोट लागेको थियो। घटनामा कार्यालयभित्र रहेका कम्प्युटर र अन्य सामग्रीमा पनि क्षति पुगेको छ।
