मेक्सिको । मेक्सिकोका सुरक्षाकर्मीहरूले उत्तर क्षेत्रस्थित कुलियाकानमा गरिएको एक विशेष कारबाहीका क्रममा ११ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उक्त अपरेसनका दौरान कुख्यात सिनालोआ कार्टेलअन्तर्गत सक्रिय एक समूहका नेता ओमार ओस्वाल्डो टोरेसलाई पक्राउ गरिएको जनाइएको छ।
मेक्सिकन नौसेनाले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार छापामार अभियानका क्रममा सुरक्षाकर्मीमाथि आक्रमण भएपछि जवाफी कारबाही गरिएको थियो। सो क्रममा ११ जना आक्रमणकारी मारिएका हुन्। मृतकहरूको पहिचान भने हालसम्म सार्वजनिक गरिएको छैन। घटनास्थलबाट उच्च क्षमताका हतियार तथा विभिन्न सामरिक उपकरणहरू बरामद गरिएको पनि जनाइएको छ।
‘एल पातास’ उपनामले परिचित टोरेस सिनालोआ कार्टेलको ‘लोस मायोस’ समूहका प्रमुखमध्ये एक मानिन्छन्। अपरेसनका बेला उनीसँग उनकी छोरी पनि रहेकी थिइन्। यद्यपि उनी कुनै आपराधिक गतिविधिमा संलग्न नभएको पुष्टि भएपछि उनलाई परिवारको जिम्मा लगाइएको अधिकारीहरूले बताएका छन्।
पछिल्ला वर्षहरूमा सिनालोआ कार्टेलभित्रै ‘लोस मायोस’ र ‘लोस चापितोस’ समूहबीच शक्ति संघर्ष तीव्र बन्दै गएको छ। यी दुवै गुट क्रमशः इस्माइल जाम्बाडा र जोकिन ‘एल चापो’ गुजमानसँग सम्बन्धित मानिन्छन्, जसले कार्टेलभित्रको आन्तरिक द्वन्द्वलाई थप जटिल बनाएको छ।
