काठमाडौँ । प्रतिनिधिसभा बैठक सञ्चालनको तयारीका लागि सिंहदरबारमा सर्वदलीय बैठक बसिरहेको छ। संघीय संसद सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ वटा राजनीतिक दलबीच अनौपचारिक छलफल आयोजना गरेको हो।
सिंहदरबारस्थित संसद सचिवालयका महासचिवको कार्यकक्षमा जारी बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रतिनिधिहरू सहभागी छन्।
समानुपातिकतर्फ निर्वाचित सांसदहरूले बिहीबार निर्वाचन आयोगबाट प्रमाणपत्र प्राप्त गरेपछि राष्ट्रपति कार्यालयमा प्रतिवेदन बुझाउने तयारी गरेका छन्। संसद सचिवालयले १२ चैतमा सांसदहरूलाई शपथ खुवाउने कार्यक्रम तय गरेको छ।
